झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मञ्जीर रुलहकरहेका छन् ।
उनीहरुको साथबाट १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न साढे ४ बजे गौरादह नगरपालिका–१ बाट ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा २८ वर्षीय विशाल सुब्बा, सोही ठाउँका २६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय राजकुमार ताजपुरिया र २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरूको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका सात जनालाई आवश्यक कारबाहीका लागि अनुसन्धानमा राखिएको जनाइएको छ ।
