काठमाडौं । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए ।
दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो । पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको डिएसपी दाहालले बताए ।
घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो । उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको हो । हत्याको कारण भने खुलिसकेको छैन ।
गीताको शवको मुचुल्का उठाएर प्रहरीले कोशी अस्पतालमा राखेको छ भने बमबहादुरको शव पनि कोशी अस्पतालमा राखिएको छ ।
डिएसपी दाहालका अनुसार बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरूका ८ वर्षीय एक जना छोरा छन् । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनी भने भागेर बाँचेका थिए ।
‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ डिएसपी दाहालले भने । जसकारण बालकलाई चोटपटक लाग्न पाएको छैन ।
मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । श्रमान्-श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ । झगडा श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए ।
