काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकले आत्महत्या गरेका छन् । गत बुधबारदेखि सम्पर्कविहीन अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले झुण्डिएर आत्महत्या गरेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या गरेको देखिएपनि थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले उनको गोजीबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ।
मनोजले सुसाइड नोटमा गृहमन्त्री रवि लामिछाने, बुबा–आमा र भाइलाई सम्बोधन गरेका छन् । उनले २०८४ सालमा रवि प्रधानन्त्री भएको हेर्ने इच्छा भएर तर नपाएको उल्लेख गरेका छन् ।
गृहमन्त्री लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गर्दै उनले आफ्नो भाइको एमबीबीएस पढ्ने कित रवि लामिछाने जस्तै नेता बन्ने इच्छा रहेको र त्यो पूरा गरिदिन आग्रह गरेका छन् ।
साथै उनले आफ्नो भाइलाई, बुबा आमालाई सम्हाल्न र आफूलाई सम्झिएर नरून भनेर सुसाइड नोटमा लेखेका छन् । प्रहरीकाअनुसार सुसाइड नोटमा सबैसँग माफी मागिएको छ ।
परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको नोटमा उल्लेख छ । सुसाइड नोट उनले नै लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
