काठमाडौं । प्रहरीले १६ वर्षपछि हत्याका योजनाकार महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ती महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरिएको हो ।
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई ती महिलाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।
थापालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट पक्राउ गरी आज आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताए ।
