काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–२ भंगालबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरुङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरुङलाई आइतबार ट्राफिक प्रहरीले फेला पारेको थियो ।
पक्राउ परेका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बयान दिएका छन्। थप अनुसन्धान तथा कारबाहीका लागि गुरुङलाई प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।
बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनी मोटरसाइकल धनी धादिङका प्रकाश श्रेष्ठले ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मङ्सिर २६ गते निवेदन दिएका थिए ।
प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित गुरुङ नियन्त्रणमा आएका हुन् ।
