काठमाडौं । २०८१ वैशाख पहिलो हप्ता दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउँदैछन् । ३० वर्षे सेवाअवधि र उमेरहदका कारण एआईजीद्धय सन्दीप भण्डारी र मिरा चौधरी अवकाशमा जान लागेका हुन् ।
एआईजीको ५६ वर्षे उमेर हदका कारण भण्डारी वैशाख ५ गते अनिवार्य अवकाशमा जानेछन् भने चौधरी दुई दिनपछि अर्थात वैशाख ७ गते अनिवार्य अवकाशमा जाने प्रहरीको किताबखानामा उल्लेख छ ।
उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय गृहमन्त्री रवि लामिछाने स्वयम्ले उठाएको हुँदा यदी बीचमा ३० वर्षे हटेको अवस्थामा उनीहरुको जागिर थप लम्बिनेछ । नभए उनीहरुको वैशाख पहिलो हप्तामा घर जानेछन् ।
एआईजीद्धय भण्डारी र चौधरी अवकाशमा जाने निश्चित भएपछि सरकार समेत बढुवाको तयारीमा जुट्नेछ । रिक्त पदमा दर्जनौं प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु बढुवाको लागि प्रतिस्पर्धामा छन् ।
एआईजीको प्रतिस्पर्धामा उमेशराज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् । यी टोली प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरसँगै डिआईजी भएका हुन् । उनीहरु एआईजीको मुख्य दाबेदार हुन् ।
गृहमन्त्री रवि लामिछाने बरियताअनुसार बढुवा गर्ने पक्षमा रहेको बताइएको छ । तर, पहिलो नम्बरमा रहेका डिआईजी जोशी कार्यसम्पादन मूल्याकंनमा कमजोर रहेको कारण गृहमन्त्री लामिछाने समेत उनको पक्षमा नरहेको बताइन्छ ।
यस्तै दोस्रो नम्बरमा रहेका ढकाल कमाण्ड क्षमतामा अब्बल छन् । हाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका ढकाललाई आईजीपी कुँवर समेत एआईजी बनाउनुपर्ने पक्षमा छन् । त्यसैले उनको सम्भावना बढी छ ।
तेस्रो नम्बरका जोशी गण्डकी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालिसकेका छन् । उनको कमाण्ड क्षमता मध्यम रहेको उनलाई नजिकबाट चिन्ने प्रहरी कर्मचारीहरु नै बताउँछन् ।
त्यस्तै पोखरेल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन् । वर्तमान सरकारको नजरमा उनी राम्रै प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
यता पाँचौ नम्बरमा रहेकी डिआईजी सिंह अब्बल महिला अधिकृत हुन् । उनले भरतपुर तालिम केन्द्रको सफल कमाण्ड सम्हालिसकेकी छन् ।
त्यसैगरी डिआईजी बुद्धिराज गुरुङ संगठनमा राम्रो अधिकृत भएपनि किरण राणा संगठनमा विवादित प्रहरी अधिकृत हुन् । बागमति प्रदेश प्रहरी कार्यालय प्रमुख हुँदा राणा विवादमा तानिएकी थिइन् ।
उनीहरुले आ आफ्नो ठाउँबाट लबिइङ गरिरहेका छन् ।
त्यस्तै दोस्रोपटक डिआईजी भएका कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल छन् ।
उनीहरु समेत एआईजीको प्रतिस्पर्धामा छन् । तर, उनीहरुको सम्भावना कम छ ।
