२१ वर्षीय रुपेन्द्र लामा र १२ कक्षा पढ्दै गरेको १८ वर्षीया सुष्मा लामा बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो ।
पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्न थाले । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन् । पटकपटक प्रेम प्रस्ताव राखे पनि सुष्माले अस्वीकार गरिन् ।
त्यसपछि रुपेन्द्रको दिमागमा अस्वाभाविक विचार आउँछ- ‘सुष्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न ।’ उ आठ दिनसम्म झोलामा कुटो बोकेर सुष्मालाई सिध्याउने दाउ ढुकेर बस्छ । र, आठौं दिनमा कथित प्रेमको लागि कसैको जीवन नै समाप्त परिदिन्छ ।
यो घटना काठमाडौं, गोकर्णेश्वरको हो ।
एउटा महिलाले कसैको प्रेम प्रस्ताव अस्विकार गरेकै कारण आफ्नो जीवन नै गुमाउनु पर्छ । यसले दुईवटा प्रश्न जन्माउँछ- हाम्रो समाजमा महिला कति असुरक्षित छिन ? अनि, एउटा घर, परिवार र विद्यालयमा दिने नैतिक शिक्षा माथि पनि प्रश्न उठ्छ ।
हामीले तथ्य तथ्यांक त सिकायौ तर मानिस बन्न सिकाउन सकेनौ । अब्बल नम्बर ल्याउन प्रेरित त गर्यौं तर असल मानिस हुन् प्रेरित गर्न सकेनौ । त्यसैले हामीले पहिल्यै नै यस्ता स साना कुराहरूमा ध्यान दिन आवश्यक छ ।
सुष्माको हत्यारालाई कडाभन्दा कडा कारवाही होस् । मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।
