काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।
आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए । एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरुसहित गृहमन्त्रीलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।
