काठमाडौं । प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) को पार्लरमा आकर्षक तलबमा काम लगाईदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्याई युवती बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको छ ।
कटुवालले नेपालमा ब्युटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकटलगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याई कुवेत पुर्याई बन्धक बनाएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
कुवेतमा पुगेपश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो ।
बटुवालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको जनाएको ।
