घटना नम्बर १
२०७९ जेठ ११ गते यात्रुवाहक बसको ठक्करबाट झापामा प्रहरी जवान प्रकाश राई र म्यादी प्रहरी जितुहाङ राईको मृत्यु भयो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको समेत ड्युटीमा रहेको बेला बसले ठक्कर दिएको थियो ।
घटना नम्बर २
बैतडीको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बल बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट २०८० असोज १० गते निधन भयो ।
बाजुराबाट घर जान खोजेका महरालाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । जतिबेला उनलाई ठक्कर दिने गाडीको पहिचान खुल्न सकेको थिएन ।
घटना नम्बर ३
यस्तै गत २०८० मंसिर २९ गते बाँकको महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भयो भने सोही घटनामा अर्का एकजना प्रहरी सिकिस्त घाइते भए ।
भे१च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका ट्राफिक प्रहरीलाई ठक्कर दिँदा सुरुमा घाइते भएका प्रहरी जवान विशाल ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
ती प्रहरी जवान बाँकेबाट सुर्खेत जाने रत्नराजमार्ग खण्डको चपेपाङमा कार्यरत थिए । त्यहाँ डिउटी सकेर बर्दिया घर जान खोजेका थिए । सोही क्रममा मदन चोकमा गाडी रोक्न खोज्दा जिपले ठक्कर दिएको हो ।
घटना नम्बर ४
त्यसैगरी कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक (सई) टोपहादुर खत्रीको पाँच दिनपछि मृत्यु भएको छ । उनलाई गत २० फागुनमा बसले ठक्कर दिएको थियो ।
जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ड्युटी गर्ने क्रममा बसले उनलाई ठक्कर दिएको थियो ।
०००
यी केही घटना उदाहरण मात्र हुन् । ड्युटीका समयमा सडकमा खटिने सुरक्षाकर्मी पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । जसले गर्दा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या निरन्तर बढ्दो क्रममा छ ।
राष्ट्र र आम नागरिकको सुरक्षा र सेवाका लागि खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित हुन थालेपछि चिन्तित बन्न थालेका छन् । त्यसैले सुरक्षाकर्मीहरुको हकमा राज्य चनाखो र जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक केलाउने हो भने हाल हजारौंको संख्यामा गाडीको ठक्कबरबाट प्रहरी सुरक्षाकर्मी अंगभंग र घाइते छन् । यो अर्को पीडादायी पक्ष हो ।
प्रहरी भनेको कानुनको कार्यान्वयन, नागरिकको सुरक्षा, स्वास्थ्य र सम्पत्तिको सुनिश्चितता, अपराध र नागरिकको अराजकता रोक्न सरकारद्वारा अधिकारप्राप्त व्यक्ति हुन् । तर, बिडम्बना उनीहरु आफैं असुरक्षित बन्न थालेका छन् ।
नेपाल जस्तो सानो देशमा नागरिकको सुरक्षाका लागि खट्ने सुरक्षाकर्मीको ज्यानको सुरक्षा ग्यारेन्टी छैन् । ज्यानको बाजी थापेर सुरक्षाकर्मीहरु आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् तर, कुनबेला कहाँ के हुने हो उनीहरुलाई थाहा नै हुन्न ।
यसरी आफ्नो जीवनलाई मृत्युको काखमा लिएर जोखिमपूर्ण तरिकाले काम गर्ने सुरक्षाकर्मीहरुको चिन्तातर्फ राज्यको ध्यान जान आवश्यक छ । सामान्य नागरिक जस्तै गरी जीवनयापन गर्न नपाउने सुरक्षाकर्मीको ज्यान जाँदा राज्य निरिह जस्तै बनेको छ ।
