काठमाडौ । रवि लामिछानेले गृह मन्त्रालय रोज्नुको कारणबारे बोलेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताए । उनले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए ।
उपप्रधानमन्त्री समेत रहेका लामिछानेले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उनले कानुनी राज्य स्थापना गर्ने सिलसिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।
उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे । लामिछानेले भने, ‘निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेका चाहिँ होइन । जे चलिरहेको छ, त्यो चलिरहनु भन्दा अलि फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यो चुनौतीका लागि हामी यहाँ उपस्थित भएको हौ, आएका हौं । यसैकारण यो जिम्मेवारी लिने निधो गरेको हुँ ।’
