पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगीसम्बन्धी कसुरमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय सुवर्णमान नकर्मी, ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय उदित सन्दिप पौडेल रहेका छन् ।
पोखरा महानगरपालिका-९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नकर्मी सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष हुन् भने श्रेष्ठ सोही संस्थाका सञ्चालक समितिका सदस्य एवं ऋण संयोजक र पौडेल उक्त संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने व्यक्ति हुन् ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीबाट सहकारी ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
