विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा एक १५ वर्षीया बालिकाको हत्या भएको छ । लामाटोलस्थित विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।
बालिकाको घर भने खोटाङको अैसेलुखर्क- ६ हो । दुई वर्षदेखि विनोदको घरमा बसिरहेकी उनी पथरीमै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।
विनोद नास्ता पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् । प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।
हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ ।
कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।
‘राति शौचालय जानका लागि निस्कएकी उनी कराएको सुनेर घरमा मान्छे उठेका रहेछन्,’ दाहालले भने,’ शौचालय जाने क्रममा धारिलो हतियार गर्धनमा प्रहार भएको देखिन्छ । बालिका कराएको सुनेपछि घरका सदस्य बाहिर निस्कदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘बालिका कराएको सुनेपछि बाहिर निस्कदा परिवारका सदस्यले शौचालय छेउमा छटपटिरहेको देखेछन्,’ डिएसपी दाहालले भने,’ प्रहरीलाई खबर गर्दागर्दै बालिकाको मृत्यु भयो ।’
योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । ‘घटनामा हालसम्म कसैको संलग्नता खुलेको छैन,’ दाहालले भने,’ सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी स्रोतका अनुसार बालिकाको हत्या प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने देखिन्छ ।
