काठमाडौं । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक छन् ।
भारत बिहारका २९ वर्षीय रंजित सरार्फ, बिहारकै रवि शंकर सिंह, कृष्णलाल प्रसाद, बारा कलैयाका ३१ वर्षीय कलामुसदन अन्सारी, बाराकै ३९ वर्षीय मेराजेल हक अन्सारी पक्राउ परेका हुन् ।
उनीहरुलाई कलैयास्थित अस्पताल रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट २१ लाख ९ हजार रुपैयाँ समेत बरामद भएको छ ।
सुरुमा फागुन १८ गते जिप्रका बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका-६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपैयाँ ल्याउँदै गरेको अवस्थामा रन्जितलाई पक्राउ गरेको थियो । जतिबेला उनको साथबाट नगद पाँच लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसँग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपछि त्यसमा संलग्न अरु चार जनालाई उनकै बयानको आधारमा पक्राउ गरेको डिएसपी न्यौपाने बताउँछन् ।
जतिबेला उनीहरुको साथबाट १६ लाख ९ हजार रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत विना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउ परेको गिरोहले खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्र्याउने गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्ले बताउँछन् ।
बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए । यो गिरोहमा अन्य व्याक्तिहरुको पनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।
पक्राउ परेकाहरुविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
