काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन् ।
डिएसपी बस्याललाई केहीबेर अघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान गरेको छ । घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको तिमल्सिनाले बताए । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।
