काठमाडौ । कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकललाई कारवाही गरेको छ । जिल्लाको विभिन्न स्थानबाट स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने ६८१ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको संयुक्त प्रयासमा गत भदौ २५ गतेदेखि फागुन २० गतेसम्ममा जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई कारबाही गरिएको हो ।
सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई कारबाही गरिएको उनको भनाई छ ।
पछिल्लो समय आतंकित नै तुल्याउने गरी ठुलो आवाजमा मोटरसाइकल चलाउँदै आएको पाइन्छ । जसले गर्दा ध्वनि प्रदुषणका साथै दुर्घटना निम्तन सक्ने उनले बताए । कारबाहीबाट सात लाख ४२ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको एसपी थापा बताउँछन् ।
‘जनगुनासो बढेसँगै हामीले ३ दिन (१७ गतेदेखि २० गतेसम्म) को समयमा समेत चेकिङ कडा बनायौ,’ एसपी थापाले भने, ‘सो अवधीमा समेत ५९ वटा मोटरसाइकल कारबाहीको दायरामा आयो ।’
परिवर्तन गरिएका मोटरसाइकलहरुमध्ये पटके कारबाहीमा परेकाहरुलाई आवश्यक कारबाहीको लागि यातायात कार्यालय कास्कीमा पठाइएको एसपी थापाले बताए । यस्तै पहिलोपटक परेकालाई मोडिफाइ गरेको फेर्न लगाइ ट्राफिक नियम उल्लंघनमा कारबाही गरि अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
