काठमाडौं । प्रहरीले सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर ठगी गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
सर्लाहीको विष्णु गाउँपालिका-४ घर भएका २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह, बारा कलैया उपमहानगर-११ घर भएका २२ वर्षीय रामसेवा राम र पर्सा विरगंग-१५ घर भएका २४ वर्षीय आकाश साह सोनार पक्राउ परेका हुन् ।
उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर करिब ५० लाख रुपैयाँ ठगेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह रठौरका अनुसार उनीहरुले विभिन्न प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्रामलगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेका थिए ।
त्यस्तै अमेरिकालगायत देशहरूबाट पार्सल स्वरुपा सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज जस्तो प्रयोजनका लागि पैसा उठाउने गरेको पाइएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
