काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । डिभाइडरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी कैलालीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।
उनीहरु शुक्रबार काठमाडौंबाट पोखरा घुम्न गएका थिए । लेकसाइडबाट जिरो किलोतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान करिब ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका-७ बुलौंदीमा दुर्घटना भएको हो ।
मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए ।
