काठमाडौं । दरबारमार्गस्थित नाइट क्लबमा काम गर्ने एक २० वर्षीया किशोरी सामुहीक बलात्कारको सिकार भएकी छिन् । युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय चालक पदम घ्याम्चो तामाङसहित दुई जना युवाले मदिराको नसामा रहेकी ती युवतीलाई २० माघमा गोठाटारको एक होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।
तामाङले उनकै ट्याक्सीमा क्बलका युवतीहरूलाई राति घर पु¥याउने काम गर्थे । २० माघ बिहान ४ बजे ड्यूटी सकेपछि क्लबका कर्मचारीले ट्याक्सी बोलाएर ति किशोरीसहित ४ जना युवतीहरुलई डेरामा छाड्न भनेर पठाइदिएका थिए ।
तर, चालक तामाङले सबैलाई कोठामा छाडिदिए पनि आफूलाई भने नशा लागेको अवस्थामा होटलमा लगेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छिन् ।
पीडितले प्रहरी वृत्त, नयाँ बानेश्वरमा दिएको किटानी जाहेरी अनुसार, उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित शैलुङश्वरी होटल एण्ड लजको कोठामा लगेर बलात्कार गरिएको थियो ।
चालक तामाङले भने सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन् । घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न काभ्रे घर भएका २९ वर्षीय दिपकबहादुर श्रेष्ठ फरार रहेका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
तामाङलाई भने जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । दुवै आरोपीविरुद्ध सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१० मा रहेको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
