काठमाडौं । गत १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका१० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा सालिन पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिइन् ।
छात्रावासमा मृत फेला परेकी सालिनको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन भन्दै शनिबार जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो । सालिन सो दिनको १०ः३० बजेको समयमा होस्टेलको अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् ।
घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
हाल सो घटनाको गम्भीर रूपमा थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ । ‘
प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा सम्प्रेषित विषयबस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्नेगरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगरी दिनुहुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

