काठमाडौं । झापा प्रहरीले एक हप्तामा ७० जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा प्रमुखको कार्यकाल सम्हालेर गएसँगै प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जिल्ला अदालतबाट दोषी करार भएका फरार अपराधीको पक्राउ गर्ने अभियान अन्तर्गत एक हप्तामा ७० जना फरार अभियुक्त पक्राउ गरेका हुन् ।
जसमध्ये फागुन १७ गते मात्र ३४ जना फरार अपराधी एकै दिन पक्राउ गरेका थिए । पछिल्लो समय केसीको सक्रियतामा झापामा फरार अपराधीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
अपराध गरेर दोषी करार भइसकेका मानिसहरु पक्राउ नपर्ने र समाजमै रहने प्रवृत्तिले नराम्रो म्यासेज गएको छ । अपराध गरेर पनि उन्मुक्ति पाइन्छ भन्ने गलत मानसिकताले गर्दा अपराधलाई प्रोत्साहन भए जस्तो देखिएकाले झापा प्रहरीले अदालतबाट दोषी ठहर भएका अपराधीहरुलाई पक्राउ गर्ने एकहप्ते अभियान लिएको एसपी केसीले बताए ।
‘अपराध गरेर समाजमा खुलेआम हिँड्न पाइन्छ, प्रहरी समाउन आउँदैन भन्ने नकरात्मक सन्देश जाने भएकाले यस्ता अपराधीलाई उत्मुक्ति नदिनको लागि पक्राउ गर्ने अभियान चलाएका हौँ,’ एसपी केसीले स्कुपखबरसँग भने, ‘यसले गर्दा प्रहरीको शान्ति सुरक्षा कायम गर्ने सवालमा पनि प्रश्न उठ्ने भएकाले अभियान चलाउनुपरेको हो ।’
अपराधी सामाजका अन्य मानिसहरु सँगसँगै जिउन पाउनु भनेको कानूनको धज्जी उडाएको जस्तो भएकाले पनि अपराधीहरुलाई खोजीखोजी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाएकाले आगामी दिनहरुमा पनि यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याउने एसपी केसीले बताए ।
एकैदिन पक्राउ परेकामध्ये २६ जना प्रतिवादीहरुलाई जरिवाना तिराई छाडिएको र ८ जनालाई कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
