काठमाडौं । पूर्वयुवराज पारस शाह विभिन्न लफडाको कारण विवादमा आइरहन्छन् । अनेकन अराजक क्रियाकलापसँग जोडिएका पारसले युवराज हुनु अघिदेखि नै नसालु पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना गराउँदै आएका छन् ।
करिब १३ वर्षअघि पारसले चितवन निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा रुवेल चौधरीसँगको विवादमा गोली पड्काएका थिए । घटना २०६७ मंसिर २५ मा भएको थियो । पछि सार्वजनिक अपराधमा मुद्दा नै परेको थियो ।
उनै पारसले अहिले पुनः चितवनमा आएर उदण्ड गरेको भन्दै चर्चा भएको छ । पारसले एक स्कुल बसका चालकलाई पेस्तोल ताकेको आरोप छ । घटना हो गत ९ फागुनको । तर, घटना एक हप्तापछि अर्थात १४ गते बाहिर आएको हो ।
उक्त घटना सामाजिक सञ्जालमा सनसनी फैलिएको छ । पारसले चितवनको भरतपुर महानगरपालिका–४ पीपलचोकमा रहेको सनराइज इङ्लिस स्कुलका विद्यार्थी बोकेको बसका चालकलाई पेस्तोल देखाएको आरोप लागेपछि उनको चौतर्फी आलोचना भएको छ ।
जसको खुलासा नेपाल क्रिकेट एसोसिएशन (क्यान) बागमती प्रदेश सदस्य अनिल अधिकारीले फेसबुकमार्फत गरेका हुन् । स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको बसका ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटना….लाई जानकारी गराएको छु ।’
त्यसपछि घटना सामाजिक सञ्जाल हुँदै मिडियामा छरपष्ट भएको हो । सबैको चासोको विषय बनेको यस घटनाको वास्तविकता भने अहिलेसम्म कसैले सार्वजनिक गरेको छैन । स्कुल प्रशासनले समेत पुष्टि गर्न सकेको छैन भने प्रहरीले पनि यसको पुष्टि गर्न आनाकानी गरेको छ ।
पारसले केही समयअघि मात्र निर्मल निवासमा प्रवेश पाएका थिए । तर जब उनी निर्मल निवासमा छिर्छन् उनको उदण्डताले सीमा नाघ्ने गरेको छ । यसअघि उनी गायक प्रविण गुरुङ मृत्यु प्रकरणमा समेत तानिएका थिए ।
शाहको आनीबानीले परिवारका सदस्यहरु आजित बनेका छन् ।
