काठमाडौं । बेला बेला नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको प्रावधान हट्ने भनेर चर्चा हुन्छ । तर, पछिल्लो ६-७ वर्षदेखि भएको चर्चा चर्चामै सीमित छ ।
प्रहरी नियमावली २०७१ अनुसार नेपाल प्रहरीका अधिकारीहरू जम्माजम्मी तीन किसिमबाट अनिवार्य अवकाशमा जान्छन्- ३० वर्षे सेवा अवधि, पदावधि र उमेर हद ।
सोही व्यवस्थाअनुसार नेपाल प्रहरीका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पूरा कार्यकाल खान नपाई ३० वर्षे सेवा अवधिको कारण अवकाशमा जानेछन् । प्रहरीको किताबखाना स्रोतका अनुसार उनीहरु ‘अर्ली रिटायर्ड’को सूचीमा देखिन्छन् ।
उमेर र ३० वर्षे सेवाहदको कारण अवकाशमा जाने एआईजीहरु हुन्- सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य । यी सबै २०८१ मा अवकाशमा जाने हुन् ।
एआईजी भण्डारी २०८१ वैशाख ५ गते अनिवार्य अवकाशमा जानेछन् भने चौधरी २ दिनपछि ७ गते अवकाशमा जाने प्रहरीको किताबखानामा उल्लेख छ ।
यस्तै ज्ञवाली २०८१ भदौ २६ गते अवकाशमा जाने किताबखानामा उल्लेख छ भने बज्राचार्य पुस १६ गते अनिवार्य अवकाशमा जानेछिन् । उनीहरु प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकै ब्याची हुन् ।
उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय उठिरहेको र गृह मन्त्रालयले समेत सेवाहद हटाउनुपर्ने विषयमा तयारी थालेको कारण यदी बीचमा ३० वर्षे हटेको अवस्थामा उनीहरुको जागिर थप लम्बिनेछ ।
