काठमाडौं । कञ्चनपुरमा एक युवकको शव भेटिएको छ। मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेका छन् ।
बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो । उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो ।
उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । तर,पनि उनी फेला परेका थिएनन् ।
खोजी गर्ने क्रममा आज विष्टको शव महाकाली सिँचाइको मूल नहरमा बोराभित्र भेटिएको हो । उनी एक साताअघि मात्र भारतबाट घर फर्किएका थिए ।
नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकी श्रीमती शान्ति सेनामा सुडानमा छिन् । उनीहरूकी २ वर्षीया छोरी छन् ।
पीडित परिवारले बिष्टको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ । प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
