काठमाडौं । आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ । मृतक साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन् ।
एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेको खुलेको छ ।
राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए ।
हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए ।
दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ ।
दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड गएका हुन् । दाहाल र हत्यामा संलग्नहरु पोल्याण्डको सुप्सक सहरमा रहेको एक माछा कम्पनीमा कार्यरत थिए ।
