काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । त्यस्तै तीन जना घाइतको उपचार भइरहेको छ ।
निजगढ नगरपालिका-७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो ।
विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको थियो ।
त्यस्तै वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवालको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ ।
बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिन पक्राउ परेका छन् ।
