काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् परिसरमा बाहिरबाट आन्दोलनकारीहरु प्रवेश गरेर प्रदर्शन गरेको घटनाबारे छलफल गर्न दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीलाई मन्त्रालयमा बोलाएका छन् ।
प्रहरीका महानरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई छलफलमा बोलाइएको बताइएको छ ।
उनीहरुलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरेको बताइएको छ । यो घटनाबारे छानबिन गर्ने प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी र रानीपोखरीमै कार्यरत प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ । त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए । त्यहाँ पुगेर उनीहरूले नाराबाजी गरेका थिए ।
