काठमाडौं । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र गाँजा हुन्छ भन्ने अनुमान कसलाई हुन्छ र ? साइरन बजाउँदै राजमार्गमा गुड्ने एम्बुलेन्सलाई रोक्ने कुरा पनि आउँदैन । उल्टै आपतकालिन सेवा भनेर बाटो खाली गराउने काम हुन्छ ।
तर, शनिबार यस्तै दृश्य धनकुटाको भेडेटारमा देखियो । नभन्दै अगाडी साइरन बजाउँदै आएको एम्बुलेन्सभित्र बिरामी मान्छे कोही नभएपछि शंका लागेर चालकमाथि केरकार गर्दा एम्बुलेन्सबाट ५२ केजी गाँजा बरामद भयो ।
इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक (सई) जीवन कार्कीका अनुसार धनकुटाबाट धरान तर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा शनिवार बिहान १० बजे ५२ केजी गाँजा बरामद भएको हो ।
साइरन बजाए पनि भित्र बिरामी कोही नभएपछि चालकलाई बाहिर निकालेर सामान्य सोधपुछ गर्दा सुरुमा सिट मुनीबाट १ केजी मात्रै गाँजा निकालेको प्रहरी नायव निरीक्षक कार्कीले बताए ।
पछि अन्य प्रहरीले एम्बुलेन्सभित्रै पसेर खोजतलास गरेपछि टुलबक्स राख्ने स्थानमा १ किलोको दरले प्याकिङ गरेको अवस्थामा ५२ वटा पोका भेटिएपछि एम्बुलेन्ससहित चालक विराटनगर महानगरपालिका८ का ४८ वर्षीय जयदेव चेललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
‘धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारस्थित ड्युटीमा खटिएका प्रहरीलाई एक एम्बुलेन्सभित्र गाँजा रहेको सूचना पहिला नै आएको थियो,’ सई कार्कीले भने, ‘तर, सूचना दिनेले प्रहरीलाई एम्बुलेन्सको नम्बर भने दिएका थिएनन् ।’
नम्बर पत्ता लगाउन धरान धनकुटा राजमार्गमा शुक्रवार र शनिवार गुडेको एम्बुलेन्सहरूका डाटा चेकजाँच गरियो जम्मा २१ वटा एम्बुलेन्स गुडेको रेकर्ड भेटिए पनि एउटा एम्बुलेन्स फर्किएको रेकर्ड देखिएन र सोहीको पर्खाइमा बस्दा सफलता प्राप्त भएको सई कार्कीले बताए ।
प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने चालकलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।
भारतमा माग धान्न गाह्रो परेकै कारण त्यताका व्यापारीहरू पर्यटक बनेर नेपाल भित्रिने र पहाडी भेगहरूबाट गाँजा ल्याउने गरेको तथ्य हालै सार्वजनिक भइसकेको छ । नेपाली बजारमा प्रतिकिलो १५ देखि २० हजारले बिक्री हुने गाँजा भारतको बजारमा ४० हजार सम्म बिक्री हुने गरेको प्रहरीको भनाइ छ ।
