काठमाडौं । एक रेष्टुरेन्टमा महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले महिलाको तस्बीर खिचेको आरोपमा पक्राउ परेका डिएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्वीर तथा भिडियो खिचेका थिए ।
युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएकी हुन् ।
पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए । मदिराकै नशामा उनले त्यस्तो हर्कत गरेका हुन् ।
