काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार बताइने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।
प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो ।
भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।
