काठमाडौं । नेपाली सेनाका तीन सहाकरथी उपरथी पदमा बढुवा भएका छन् । उपरथीमा बढुवा भएका तीनजनालाई प्रधानसेनापति प्रभुराम शर्माले आइतबार जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सहायक रथीहरु सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजाको उपरथीमा पदोन्नती भएको हो । उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।
बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् ।
थापा भावी नेतृत्वको दौडमा देखिए
२८ वेसिकका सैनिक अधिकारी थापा उपरथीमा बढुवा भएसँगै भावी प्रधानसेनापतिको लाइनमा देखिएका छन् । यद्यपी अहिले नै यो विश्लेषण गर्न हतार हुने सैनिक अधिकारीहरु बताउँछन् ।
उपरथीमा रोलक्रममा यसअघि मधुकर कार्की अगाडी भएपनि उनले नेशनल डिफेन्स कोर्स(एनडिसी)समयमा नगर्दा थापाको बढुवाको बाटो खुला भएको हो ।
सेनामा स्याण्र्डसबाट दिक्षित थापाले अधिकांश तालिम अमेरिकाबाट गरेका छन् । त्यतिमात्र हैन उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पि–४ को रुपमा काम समेत गरिसकेका छन् ।
थापा प्रधानसेनापतिको उप सैनिक सहायक, २८ बाहिनीको बाहिनीपति र खरिपाटीको तालिम केन्द्र र नेपाल ताराबाट विभुषित सैनिक अधिकारी हुन् ।
रेन्जर पृष्ठभुमिका थापाको अमेरिकी उच्च सैनिक नेतृत्वसँग समेत सुमधुर सम्बन्ध रहेको बताइन्छ । उनका बुवा सहायकरथी तेजेन्द्रजंग थापाले समेत नेपाली सेनाको हवाई निर्देशनालयको निर्देशकबाट अवकाश पाएका थिए । थापा सेनाभित्र व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् ।
सेनामा उपरथी हुन एनडिसी कोर्स गर्नुपर्ने प्रावधान छ । कार्कीले अहिले नाइजेरियामा एनडिसी कोर्स गरिरहेका छन् । नियमले उनले एनडिसी गर्न नपाउने भएपनि प्रधानसेनापति शर्माको जोडबलमा उनलाई एनडिसीमा पठाइएको हो ।
सहायक रथीमा बढुवा भएपछि उनि वासिङटनस्थित नेपाली दूतावासमा सैनिक सहचारीको नियुक्तिमा थिए । कार्की अमेरिकाबाट फर्केपछि समयमा एनडिसी कोर्स गर्न नपाएपछि उनको बढुवामा ब्रेक लागेको हो ।
हालका प्रधानसेनापति प्रभुराम शर्माले अहिलेकै अवस्थामा ०८१ भदौमा अवकाश पाउनेछन् । त्यसपछि अशोकराज सिग्देल ०८४ सम्म सेनाको प्रधानसेनापति बन्नेछन् । यो बीचमा नेतृत्वमा तलमाथि केही नभएको अवस्थामा उपरथीहरु बावुराम श्रेष्ठ, प्रदिपजंग केसी र दीपक बानियाँ सेनाको तिन तारे हुने लाइनमा छन् ।
