काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर देखाएर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने रामबहादुर तामाङ, उनकै श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने शंकर रेग्मी रहेका छन् ।
ठगी आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रा.लि.का संचालक हुन् ।
उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रामबहादुरले सस्तोमा डलर साटिदिने भन्दै सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर लोभ्याउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले पीडितबाट मोटो रकम लिएर उनीहरूलाई भने कागजको बिटो दिएर ठगी गर्ने गरेका थिए ।
रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए ।
प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ ।
