काठमाडौं । कास्कीमा बेपत्ता उक पर्यटक सशस्त्र प्रहरी बलको विपद् उद्दार टोलीले मृत अवस्थामा भेट्टाएको छ ।
पोखरा फर्कने क्रममा शनिबार साँझ कास्की माछापुच्छ्रे गाउँपालिका-१ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर आफ्नो जर्मन केटी साथी बेपत्ता भएको भन्दै एक अमेरिकन युवकले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
सो खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नं. २४ कालिका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको बिशेष खोज तथा उद्दार टिम रातीनै परिचालन भएको थियो ।
खोजतलासका क्रममा आइतबार बिहान सोही भिरको रुखमा अड्किएको अवस्थामा उनको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अहिले भिरबाट डोरीको सहायतामा रोप रेस्क्यु विधिमार्फत शव निकाल्ने प्रयास भइरहेको छ, प्रवक्ता थापाले भने ।
मृत्यु हुनेमा जर्मन नागरिक करिब २१ वर्षीया PIA JOOS रहेकी छिन् । खबर गर्ने युवकलाई भने स्थानीय प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थापाले बताए ।
