दाङ । दाङकी एक महिला आफ्नी दुई वर्षीया छोरीलाई होटेलमा अलपत्र पारेर गायब भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँकी २१ वर्षीया अमृता चौधरी आफ्नी दुई वर्षीया छोरी निशिता चौधरीलाई शुक्रबार बिहान पौने १० बजेतिर लमही बजारस्थित एक होटलमा छाडेर बेपत्ता भएकी हुन् ।
छोरीलाई छोडेर आमा बेपत्ता भएको खबर होटेल सञ्चालकले दिएपछि प्रहरीले बालिकाको उद्धार गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर श्रेष्ठले जानकारी दिए । अमृता छोरी निशिताका साथै एक पुरुषसँग होटल छिरेको पाइएको छ ।
चिया पिएपछि बसको टिकट काट्न जाने भन्दै उनीहरू बालिकालाई त्यहीँ छोडेर गएका थिए । उनीहरूले केहीबेरमा फर्केर आउने भने पनि फर्केर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए ।
छोरीलाई अलपत्र होटेलमा छोडेर अमृता सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अमृता गत असोजदेखि घरबाट छोरीसहित निस्किएकी थिइन् ।
अमृताका श्रीमान निर्मलजन चौधरीले प्रहरीमा खोजतलासका लागि निवेदन पनि दिएका थिए । अमृता र निर्मलजनले तीन वर्ष पहिले प्रेम विवाह गरेका थिए ।
आमाले होटेलमा छोडेर गएकी दुई वर्षीया बालिकाको तस्वीर प्रहरीले सार्वजनिक गरेपछि बालिकाको मामा घरकी हजुरआमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ की सरिता चौधरी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि बुवा निर्मलजन पनि प्रहरीमा पुगेका थिए ।
बालिकालाई बुवा निर्मलजनले आफ्नो घरमा लगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
अमृताको साथमा रहेका पुरूष भारतीय नागरिक सुशान्त गुप्ता रहेको खुलेको प्रहरीले जनाएको छ ।
आमाले होटेलमा अलपत्र अवस्थामा छोडेर गएकी बालिकाको नाक, आँखा, मुखका साथै शरिरका विभिन्न भागमा चोट पटक र नीलडाम देखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
उनीहरुले होटेलमा पोखरा जान टिकट काट्ने भने पनि उनीहरु पश्चिमतर्फ लागेको प्रहरीको अनुमान छ । बालिकाकी आमाको खोजीका लागि देशभरका प्रहरी युनिटहरुमा सूचना गरिएको छ ।
