काठमाडौं । गत ३ फागुनमा जिल्ला प्रहरी कार्यालय झापामा एउटा सूचना आयो । झापाबाट चोरी भएका मोटरसाइकलहरु ताप्लेजुङमा खुलेआम चढेर हिँडिरहेका छन् ।
त्यसपछि यसअघि मोटरसाइकल हराएको भनेर निवदेन आए नआएको आफ्नो कार्यालयमा सोधीखोजी भयो । जसमा केही निवेदहरु परेको थियो । त्यसपछि ताप्लेजुङ प्रहरीसँग समन्वय भयो ।
विभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको भन्ने निवेदनहरुको आधारमा जिप्रका झापाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा एक जना मानिसलाई नियन्त्रणमा लिन सफल भयो ।
ती हुन् मोरङ मिक्लाजुङ गाउँपालिका ६ घर भई झापा बिर्तामोड बस्ने २७ वर्षीय योगेश मगर भन्ने बाल कुमार मगर । उनलाई प्रहरीले १० गते मात्र सार्वजनिक गरेको छ ।
प्रहरी अनुसन्धानबाट बाल कुमारको भूमिका मोटरसाइकल चोरी गरी बेच्ने गरेको खुलेको छ । उनले झापाबाट मोटरसाइकल चोरी गरी ताप्लेजुङ लगेर बेच्ने गरेको पाइएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।
ताप्लेजुङको विभिन्न स्थानहरु थेगिम्बा, नाल्बु, लिङ्थेप, फुङ्लिनलगायतको एरियामा उनले चोरीको मोटरसाइकल बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनकै बयानमा आधारमा प्रहरीले ८ वटा चोरीको मोटरसाइकल भेट्टाएको छ ।
प्र.१.०३.००५ प ८०४३ नम्बरको २२० सीसीको मोटरसाइकल, प्र.१.०१.०१६ प १२६ नम्बरको २०० सीसीको मोटरसाइकललगायत बरामद भएको प्रहरीले जनाएको छ ।

यस विषयमा झापा एसपी केसीले मोटरसाइकल चोरविरूद्ध कडा रूपमा प्रस्तुत हुने बताए । केसीका अनुसार मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको पाइएको छ ।
उनले भने, ‘झापामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै चोरीको मोटरसाइकल राजधानी आसपासका जिल्लाहरूमा जाने गरेको भने सूचनाको आधारमा अरु जिल्लासँग समन्वयन गरिरहेको र ती गिरोहलाई पक्रिन छुट्टै सिभिल प्रहरीको विशेष युनिटले काम गर्ने गर्नेछ ।’
पटकपटक विभिन्न स्थानमा चोरिएको मोटरसाइकलहरू प्रायः ताप्लेजु जिल्लाको विभिन्नस्थानहरूमा प्रयोग भइरहेको प्रहरीकै एक उच्च स्रोतको दाबी छ ।
पक्राउ परेका मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरूले चोरीको मोटरसाइकल नेपालभित्रै १८ हजारदेखि २५ हजारसम्ममा विक्री गर्ने गरेको प्रहरी स्रोतको दाबी छ ।
चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
