काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिनको शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने शिशुको सकुशल उद्दार गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई शनिबार मध्यराती नियन्त्रणमा लिएको हो ।
उनीसँगै प्रहरीले उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
शुक्रबार दिउँसो करिब १२ बजेतिर प्रसूति गृहबाट काभ्रेकी २२ वर्षीया सबिना श्रेष्ठले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै सीसीटिभी फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा मनकुमारीले आरोप अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । अनुसन्धान अधिकृतहरूसँग उनले बच्चा ‘जंगलमा भेटेर ल्याएको हुँ’ समेत भनेकी थिइन् ।
सन्तान नभएपछि बच्चा चोरीको योजना
विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि महिलाले शिशु चोरी गरेको पाइएको छ । शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले प्रहरीसमक्ष बयान दिएकी छन् ।
सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर गएको उनले बताएकी छन् । लगत्तै उनस् अस्पतालबाट शिशु लिएर फरार भएकी थिइन् ।
शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी लिएर कोठामा पुगेकी थिइन् ।
सुत्केरी भएजसरी बसेकी थिइन् मनकुमारी
अस्पतालबाट बच्चा चोरी भएको खबर यत्रतत्र सार्वजनिक भइसकेको थियो । त्यसपछि पक्राउ पर्ने डरले उनीहरूको डेरामा पुग्दा मनकुमारीलाई भर्खर सुत्केरी भएजसरी राखिएको भेटिएको एक प्रहरीले जानकारी दिए ।
प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा बच्चा जन्माएर ल्याएको समेत बताएकी थिइन् ।
तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि भएपछि प्रहरलिे मनकुमारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।
प्रहरकिा अनुसार बच्चा लिन उनकी दिदी समेत अस्पतालसम्म पुगेको थिइन् । सीसी टीभी फुटेजमा बच्चा लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको हो ।
प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ । ‘मनकुमारीका श्रीमानलाई सोधपुछका लागी मात्र बोलाइएको प्रहरीले जनाएको छ । बच्चा चोरीमा अहिलेसम्म श्रीमानको भूमिका देखिँदैन,’ एक प्रहरी अधिकृतले भने ।
प्रहरीले शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइसकेको छ । हाल ती शिशुको बिएण्डबी अस्पतालमा राखेर उपचार भइरहेको छ । ‘स्वास्थ्यको विषय पनि हुन्छ, त्यसैले शिशुलाई परिवारको जिम्मा लगाइसक्यौं’, एक अधिकृतले भने ।
