काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी २६ दिनको शिशुको सकुशल उद्दार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शिशुको काठमाडौँको काँडाघारीबाट बिहिवार राति ११:४५ मा नै उद्धार गरेको हो ।
बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।
बच्चा चोरीमा संलग्न आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काँडाघारीस्थित डेराबाट तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अस्पताल परिसरबाटै बच्चा चोरी भएपछि आधा बाटोमा उनकी दिदीसमेत लिन पुगेकी अनुसन्धानबाट खुलेको छ । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् ।
मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् ।
अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि काठमाडौ प्रहरीले व्यापक खोजी थालेको थियो ।
सार्वजनिक सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । आरोपीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
