काठमाडौं । झापा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा गौरीगंज गाउँपालिका-३ बस्ने वर्ष १९ को गगन रिसिदेव, सोही ठाउँका वर्ष २७ को रविन पासवान, झापा बिर्तामोड नगरपालिका-५ घर बताउने वर्ष १९ को निराज मण्डल र सोही ठाउँका राहुल चौधरी रहेका छन् ।
झापा दमक नगरपालिका-६ दमक पश्चिम जेशिस चोकबाट पशुहाट बजारतर्फ पैदल जाँदै गरेका रिसिदेवलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा १०२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै रिसिदेवलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जादाँ उक्त लागूऔषध ब्राउन सुगर रविन पासवान समेतको रहेको भन्ने अनुसन्त्रानबाट खुलेपछि पासवनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।
त्यसैगरी बिर्तामोड–४ आदर्श पार्टी प्यालेस अगाडि शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको निराज मण्डल र राहुल चौधरीलाई समेत बिहीबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्दा निराज मण्डलले लगाएको बक्स हाफ पेन्टको दाहिने गोजीमा प्लाष्टिकको प्याक गरेको अवस्थामा प्रतिबन्धित लागु औषध ब्राउनसुगर स साना प्लाष्टिकको पोका थान १८ मा जम्मा प्लाष्टिकसहित ४ ग्राम ६२० मिलिग्राम र प्लाष्टिकरहित ४ ग्राम फेला पारेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
