काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका– ४ स्थित प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारको दुई जना र अर्का एक जना गरी तीन बालक रहेका छन् ।
बुढीगंगा गाउँपालिका– ४ की ६० वर्षीया ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
ज्योतिका छोरा र छोरी भने जुम्लिया हुन् । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर टुङगाले किचेर मृत्यु भएको स्थानियले बताए । ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । लहरी अनियन्त्रित भई बुढीगंगा ४ प्रगति टोलमा दुर्घटना भएको हो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतिको घरमाथि पल्टिएको प्रहरीले जनाएको छ ।
आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालले बताए । घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ ।
अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ घटनास्थल वरिपरि बाक्लो भीड लागेको छ भने सुरक्षाकर्मीले उद्धार कार्य गरिरहेका छन् । एम्बुलेन्सहरु तयारी आवस्थामा राखिएको छ ।
