काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आफूमाथि लगाएको अपहरण आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
ज्ञानेन्द्र खड्काले आफूलाई अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारीसहितको विज्ञप्ति जारी गरेपछि लामाले पनि पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन् ।
स्कुपखबरसँगको कुराकानीमा लामाले विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए ।
जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ ।
उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए । उक्त विषयमा अहिले छानबिन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए ।
ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।
०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले बताए ।
ज्ञानेन्द्रले पार्टनरसिपमा काम गरिरहेको अवस्थामा ‘बैंकको कारोबार मिलाएर लोन लिन्छु र तपाईँलाई पैसा दिन्छु’ भनेपछि तत्कालीन समयमा जग्गा पास गरिएको नेता लामाले बताएका छन् ।
जग्गा पास गरेको केही समयबाट ज्ञानेन्द्र खड्का सम्पर्कविहीन भएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको लामाले बताएका छन् ।
नेता लामाले ज्ञानेन्द्र आफैंले क्रिप्टो र विट्क्वाईन कारोबार गर्छु भनेर स्वीकार गरेको बताएका छन् । आफू उनीसँग त्यस प्रकारको कुनै कारोबारमा संलग्न नरहेको बताए ।
चितवनका खड्का ज्ञानेन्द्र निकै विवादित व्यक्ति हुन् । उनको नाम विभिन्न अपराधका घटनाहरूमा जोडिने गरेको छ । आफै शंकास्पद गतिविधि गर्दै आएका ज्ञानेन्द्रले लामालाई अपहरणको आरोप लगाएका हुनसक्ने धेरैको आंकलन छ ।
000
अपहरण गरेको भनिएको घटना सार्वजनिक भएको बुधबार हो । तर, घटना भने पुस २३ गतेको रहेछ । यही बीचमा लामाले अपहरण गरेर २० करोड रुपैयाँ मागेको भन्दै खड्काले प्रहरीमा उजुरी दिएका रहेछन् ।
लामाविरुद्ध उजुरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले अनुसन्धान सकी प्रतिवेदन समेत ललितपुर प्रहरीलाई बुझाइसकेको पाइएको छ । प्रतिवेदनमा प्रहरीले अपहरण नभएको निष्कर्ष निकालेको छ ।
प्रहरी अनुसन्धानमा लामा र खड्का ललितपुरमा रहेको लण्डन हाउस होटलमा सँगै बसेको भेटियो । जहाँ उनीहरू करिब ७ घण्टा बसेको पाइएको छ । त्यहाँ दुवैजना हाँसीखुशी बसेको र २ पटक खाजा खाएको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने ।
लामा र खड्का होटलबाट बाहिर निस्किँदा सौहार्दपूर्ण वातावरणमा निस्केको सीसीटीभी फूटेजमा देखिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले अनुसन्धान कार्यालयले बुझाएको प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन भइरहेको बताए ।
