काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बर्दिया प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) प्रबिण धितालले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी सुधिरराज शाहीको अन्यत्र सरुवा भएपछि उनको ठाउँमा धितालको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारीबाट जिल्ला प्रहरी कार्यालय,बर्दियाको कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी धितालले बुधवार पदभार ग्रहण गरेका हुन् ।
एसपी धिताल प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ-नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।
बर्दिया जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपी धितालले बर्दिया जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी उपरीक्षक धितालले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् । एसपी धितालले अपराध र अपराधी विरूद्ध कठोर भएर उभिने बताए ।
‘जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्नेछु । म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘बर्दियामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफुले कुनै पनि कसुर बाँकी नराख्ने छैन् । म राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’
उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने उनले बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी धितालले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।
स्वागत कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरण प्रसाद न्यौपाने सहित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी बरिष्ठ हवल्दार देखी प्रहरी जवान सम्मका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
