काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउन सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए ।
स्कुपखबरसँगको कुराकानीमा आईजीपी कुँवरले भने, ‘लोभलालचमा नपरी नेपाल प्रहरीले हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ । सोहीअनुसार सबै प्रहरी साथीहरुले काम गर्ने विश्वास लिएको छु ।’
उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।
सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने उनको भनाई थियो ।
केही प्रहरीका कारण प्रहरी संगठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने कुँवरको चेतावनी छ ।
जनताले प्रहरीप्रति आशा र भरोसा गरेकाले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । ‘संगठनभित्र गल्ती गर्नेलाई कारबाही नगरेसम्म प्रहरी संगठन राम्रो हुँदैन,’ उनले भने ।
गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ लागेको उल्लेख गर्दै उनले त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
