काठमाडौं । नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन् । रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् ।
नेपाल सरकार, मन्त्रीपरिषद्को २५ माघको निर्णयले उनी रथीमा बढुवा भएका हुन् ।
२०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापाले ३ फागुन २०४३ नेपाली सेनाको अधिकृत क्याडेटका रुपमा सैनिक सेवा प्रवेश गरेका हुन् । उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।
