चितवन । पूर्वी चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका-२ का अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो ।
खनालको घाँटीमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घाँटीमा चक्कु नै रहेको अवस्थामा खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) भावे्ष रिमालले जानकारी दिए ।
घटनास्थल मृतकको घरबाट अन्दाजी ५०० मिटर छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै एसपी रिमालसहितको अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरेको छ ।
प्रदेह प्रहरी कार्यालय, हेटौंडाबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएको छ भने प्रहरीले घटनास्थलमा चिकित्सकको टोली बोलाएर शवको मुचुल्का उठाइसकेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको एसपी रिमालले बताए ।
मृतक खनाल मंगलबार बिहानै अन्दाजी ३ बजेतिर ब्युँझिएर शौचालय निस्केको बताइएको छ । बिहान करिब ५ बजेतिर भने उनी घरमा फेला नपरेपछि उनको खोजी भएको थियो ।
