काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।
सर्लाही जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । पदभार ग्रहण गर्दै स्कुपखबरसँगको कुराकानीमा एसपी ज्ञवालीले जिल्लामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सूचना पाउने बित्तिकै एक्सन लिने विश्वास दिलाए ।
उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी ज्ञवालीले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।
प्रहरी उपरीक्षक ज्ञवालीले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनी संगठनमा हक्की स्वभावका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
