झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा एउटा अनौठो घटना भएको छ । आफ्ना श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्महद प्रयास गर्दा छोरीको मृत्यु भएको छ भने आमा चाहिँ घाइते भएकी छन् ।
गोपालडाँडाकी- २८ वर्षीया माया रम्तेलले ५ वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा छोरी वर्षाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८स्३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
शनिबार बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए ।
मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थलनजिकै उनको ‘सुसाइड नोट’ फेला परेको उनले बताए ।
उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले ज्याला मजदुरी गर्ने मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह प्रयास गरेकी थिइन् ।
