काठमाडौं । प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिएको छ ।
प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग) मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायव महानिरिक्षकले गर्ने ।’
नियमावली मान्ने हो भने एसपी सरुवाको अधिकार अहिले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई छ । आईजीपी कुँवरले कार्य सम्पादन र आवश्यकताको आधारमा एसपीहरुको सरुवा गर्न सक्छन् ।
सोहीअनुसार गत बुधबार राती प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना एसपी सरुवाको सूची सार्वजनिक गर्यो । ७८ जनाको सरुवा गर्दा एकैपटक २५ जिल्लाका प्रहरी प्रमुखको हेरफेर समेत भएको छ ।
उक्त सरुवा आईजीपी कुँवरले प्रहरी नियमावलीको धारा ४८ अनुसार कार्य सम्पादन र आवश्यकताको आधारमा गरेका हुन् । जुन सरुवामा प्रधानमन्त्री र गृहमन्त्री सचिवालयको रुची र दबाब रहेपनि आईजीपी कुँवरले कार्यक्षमताको आधारमा गरेकोमा दुईमत छैन ।
जसले गर्दा अहिलेको सरुवा उत्कृष्ट रहेको गृहका कर्मचारीहरु नै बताउँछन् । कार्यक्षमताको आधारमा एसपीहरुलाई जिल्ला कमाण्डको जिम्मेवारी दिइएको छ । अति संवेदनशील मानिने जिल्लाहरुमा संगठनमा कहलिएका एसपीलाई पठाइएको छ ।
जसअनुसार पर्सा जिल्लाको नेतृत्व एसपी कुमोद ढुंगेललाई दिइएको छ । यस्तै सर्लाहीमा दयानिधि ज्ञवाली, रुपन्देहीमा रजिंत सिंह राठौर, झापामा मिलन केसी, महोत्तरीमा श्यामकुमार राई, चितवनमा भावेष रिमाल, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहराको सरुवा भएको छ ।
त्यस्तै तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, धादिङमा गौतम कुमार केसी, मोरङमा नवराज कार्की, कञ्चनपुरमा चक्रराज जोशी, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठकको सरुवा भएको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का, सिन्धुलीमा विनोद शर्मा, धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, धनुषामा मित्रवन्धु शर्मा, गुल्मी राजन भुजेल, सुर्खेतमा रुपेश खड्का र स्याङ्जामा शालिग्राम शर्माको सरुवा भएको छ ।
समग्रमा हेर्दा यो सरुवा प्रहरी प्रधान कार्यालयले तयार पारेको मापदण्डअनुसार छ । मापदण्डमा ‘ख’ मा बसेका अधिकृतलाई ‘क’ र ‘ख’ मा बसेका अधिकृतलाई ‘क’ जिल्लाको नेतृत्व दिइएको छ । यस्तै पहिलोपटक जिल्ला इन्चार्जको जिम्मेवारी पाएका केही अधिकृतले ‘क’ सँगै ‘ख’ जिल्लाको जिम्मेवारी दिइएको छ ।
एसपी सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालयले सरुवामा हस्तक्षेप गर्न खोजेपनि आईजीपी कुँवरले अडान लिँदा समयमा हुनुपर्ने सरुवा समेत एक महिनापछि धकेलिएको थियो ।
स्रोतका अनुसार आईजीपी कुँवरले तयार पारेको सूचीमा रहेका नामहरु गृहमन्त्री र उनको सचिवालयले प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागलाई पटक पटक नाम हेरफेरको निर्देशन दिएका थिए ।
तर, आईजीपी कुँवरले आफ्नो अडानअनुसार सरुवा हुनुपर्ने भनेपछि गृहमन्त्री श्रेष्ठ र प्रधानमन्त्रीको सचिवालय आईजीपीको सरुवा सूचीमा सहमत भएका हुन् ।
