काठमाडौं । जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान)का अध्यक्ष रमेश देवकोटाले जापानमा पढ्न जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयबाट दिइने एनओसीमा समस्या रहेकाले यसको समाधानको लागि पहल भइरहेको बताए ।
शनिवार काठमाडौंमा जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान)द्धारा आयोजित नवौँ ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ (जापानी भाषा वक्तृत्वकला प्रतियोगिता) मा बोल्दै अध्यक्ष देवकोटाले यस्तो बताएका हुन् ।
प्रतियोगितामा नेपालका लागि जापानी राजदूत किकुता युकुताको समेत उपस्थिति रहेको थियो । सोही क्रममा अध्यक्ष देवकोटाले एनओसीमा समस्या भइरहेकाले यसको समाधानको लागि पहल गरिदिन राजदूत युकुताको ध्यानाकर्षणसमेत गराएका थिए ।
यस्तै नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष देवकोटाको भनाइ थियो ।
उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी हुन सकोस् भन्ने उदेश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको देवकोटाले बताए ।

‘हामी यस जापानीज भाषा वक्तृत्वकला प्रतियोगिताको नवौं श्रृंखलामा आइपुगेका छौं,’ उनले भने, ‘जाल्सानले विद्यार्थीहरुमा जापानको शैक्षिक प्रणाली, भाषा, संस्कृति र परम्पराबारे अधिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आइरहेको छ ।’ यस्ता प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने पनि देवकोटाले प्रतिवद्धता जनाए ।
अध्यक्ष देवकोटाले जाल्सानले जापानीज भाषा वक्तृत्व प्रतियोगिता मात्रै नभएर समय समयमा संस्थाका सदस्य व्यवसायीहरुलाई काउन्सिलर तालिम प्रदान गर्ने, शैक्षिक मेला आयोजना गर्ने, जापानीज फुड कल्चरलाई प्रोत्साहन गर्ने र नेपालमा जापानी संस्कृति ‘हानामी’ परम्पराको प्रवद्र्धनमा पनि सक्रिय रहँदै आएको बताए ।
उनका अनुसार जापानी भाषा र संस्कृतिमा रुचि राख्नेलाई ध्यानमा राखी वर्षैपिच्छे जापानीज फूल साकुरा रोप्न थालिएको छ भने जापान फाउन्डेसनको सहयोगमा जाल्सानको कार्यालयमा पुस्तकालयसमेत स्थापना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत युकुताले जाल्सानले जापानीज भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा विगतदेखि सहयोग पुर्याउँदै आएको बताए । उनले भने, ‘विदेशी विद्यार्थीमा हाल जापानमा नेपाली तेस्रो नम्बरमा रहेका छन् । उनीहरू १ लाख ५६ हजारको हराहारीमा जापानमा बसोवास गरेका छन्। यसकारण पनि मलाई जापानको राजदुत हुन पाउँदा खुसी लागेको छ ।’

उनले जापानीज शिक्षा हासिल गर्ने प्रक्रियामा भइरहेको केही कठीनाइहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने पनि बताए । राजदूत युकुताले जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीहरुको प्रशंसा गर्दै राम्रो प्रस्तुती रहेको बताए ।
जापानीज दूतावासको आफ्नै आधिकारीक फेसबुक पेजमा जापानको शिक्षा, भाषा, कलासंस्कृति र परम्पराबारे अधिक जानकारी समेटिएको बताउँदै उनले विद्यार्थीहरुलाई उक्त फेसबुक पेज हेर्न र अध्ययन गर्न पनि आग्रह गरे ।
प्रतियोगितामा गोले प्रथम भइन् भने कंसाकारले दोस्रो स्थान प्राप्त गरे
शनिवार काठमाडौंमा आयोजित प्रतियोगिताबाट रविना गोले प्रथम भएकी छन् । मिसाकी जापानीज एन्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेसन सेन्टरबाट भाग लिएकी उनले प्रथम पुरस्कार ल्यापटप र शिल्ड प्राप्त गरिन् ।

त्यस्तै हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार द्वितिया भएका छन् । उनले ट्यावलइट र शिल्ड प्राप्त गरे । यस्तै सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहालले तृतीय स्थान हासिल गरे । उनले मोबाइल समेत प्राप्त गरे ।
यसका साथै सहभागीहरूलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरूबाट १२ जना विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रममा उपस्थित विद्यार्थी, प्रतियोगी, संस्थाका व्यवसायी सदस्य तथा अतिथिहरुलाई सम्बोधन गर्दै जाल्सानका महासचिव अरुण पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने सचिव महेश श्रेष्ठ र सदस्य मेरिया खड्कीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अन्य परामर्श व्यवसायी संघका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
