काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले विमास्थलमा कार्यरत प्रहरी कर्मचारी पुरस्कृत भएकोबारे छानबिन भइरहेको बताएका छन् ।
आइतबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी कुँवरले विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई पुरस्कृत गरेकोबारे छानबिन भइरहेको बताएका हुन् ।
आईजीपी कुँवरले भने, ‘विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका तीनजना प्रहरीलाई पुरस्कृत गरेको भन्ने मिडियामा आएको छ । त्यसबारे हामी छनबिन गर्दैछौँ ।’
कर्मचाहरूसँगको कुटाकुटपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएकोबारे र रितपूर्वक नभएको भन्दै पत्र फिर्ता भएको भनिएकोबारे पूर्वगृहमन्त्री रवि लामिछानेले प्रश्न सोधेपछि आईजीपी कुँवरले यसबारे जवाफ दिएका थिए ।
‘विमानस्थलका डीआईजीको राजीनामा आएको हो । तर राजीनामा स्वभाविक रुपमा आएको हो वा होइन भन्ने प्रश्न छ । उहाँ मेरो ब्याचमेट पनि हो । अहिले उहाँ बिदामा हुनुहुन्छ,’ आईजीपी कुँवरले भने ।
डीआईजी चन्दले कारबाहीमा परेका प्रहरीलाई पुरस्कृत गरेका छन् । आईजीपी कुँवरले भने यसबारे अनुसन्धान भइरहेको बताएका हुन् ।
चन्दले सई प्रकाश चौधरी, असई सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेका थिए । चौधरीलाई १२००, तामाङलाई ११०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
पुरस्कारको विवरण अभिलेखमासमेत जनाउन राष्ट्रिय प्रहरी किताब खानामा पठाइएको थियो । तर, छानकिन हुने भएपछि तत्काललाई रोकिएको छ ।
गत १२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि खानतलासी गर्नेक्रममा कुटपिट भएको थियो । मोक्तानले आफू अध्यागमनको अधिकृत भएको र आफूलाई जाँच गर्न नपर्ने बताउँदै जान खोजेपछि प्रहरीले जाँच गर्नै पर्ने बताएका थिए ।
त्यसपछि मोक्तानले प्रहरीमाथि गालीगरेको प्रहरीको दाबी छ । अनि कुटपिटको घटना भएको थियो । लगत्तैगृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले आपत्ति जनाएका थिए ।
