काठमाडौं । बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका उनलाई सिआईबीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर ऋण लिएको प्रहरीले जनाएको छ । काभ्रे बोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएको खुलेको हो ।
उक्त कर्जा लिएर फाइनान्सलाई ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ हानी पुर्याएको एसपी बोगटीले बताए ।
उक्त मुद्दामा २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम जरिवाना सुनाएको हो ।
त्यसयता फरार रहेका उनलाई सिआईबीले पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
